पानी छोएको निहुँमा दलित युवकमाथि डोटीमा कुटपिट

डोटी : होटलमा पानी छोएको आरोपमा एक दलित युवकमाथि कुटपिट भएको छ । आइतबार दिउँसो डोटीकाे केआईसिंह गाउँपालिका–४ धामीगाउँ धाराखोलाका व्यापारी ईश्वर धामीले युवकलाई हातपात गरेका हुन् ।

केआईसिंह–४ लेककोटका रमेश भुललाई खाजा खान होटलमा गएका बेला दलितले पानी किन छोएको भन्दै धामीले थप्पड हानेका थिए । ६० वर्षीय धामीविरुद्ध जातीय छुवाछुत तथा विभेद गरेको आरोपमा पीडित पक्ष न्यायका लागि प्रहरी कहाँ गएका छन् ।

पीडित रमेश भूलले आफुमाथिमात्र नभएर सिंगो दलितजाति माथिको अपमान भएको भन्दै कानुनी कारवाहीमा जाने बताएका छन् । ‘पानी पिउन पसलमा राखेको जर्किनबाट ओसार्दै थिए, उनले एक्कासी थप्पड हानेँ,’ भूलले भने, ‘किन हान्नु भएको भन्दा दलित भएर पानी किन छोइस् भन्दै थप कुटपिट गरे ।’

जातीय विभेदको घटना इलाका प्रहरी कार्यालयले हेर्न नमिल्ने भन्दै वायल प्रहरी चौकीले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय सिलगढी पठाएको इन्चार्ज मानसिं भण्डारीले बताए ।

इकाला प्रहरी कार्यालय वायलका इन्चार्ज असइ मानसिंह भण्डारीले पानी छोएको निहुँमा कुटपिट गरेको भन्दै रमेश भूल आइतबार बेलुकी आएको बताए । असई धामीका अनुसार दुवै पक्ष मदिरा सेवन गरी बेलुकीपख आफुकहाँ आएका भए पनि सोमबार सिलगढी पठाएको बताए ।

प्रत्यक्षदर्शीका अनुसार धामीले जातीय आरोप लगाउँदै कुटेको स्वीकारेका छन् । यद्यपि सामान्य घटना भन्दै गाउँमै सहमती गर्नका लागि पीडित पक्षलाई दबाब आइरहेको दलित अगुवाहरुको गुनासो छ ।

‘२१ औं शताब्दीमा आइपुगेर पनि यस प्रकारको निकृष्ट व्यवहार सहृय हुन सक्दैन,’ केआईसिंह–४ वायलका दलित अगुवा वसन्त विकले भने, ‘होटलमा समेत दलितले पानी पिउन नपाउने ? कुन हदसम्मको अपमान हो ।’ उनले जातीयताका आधारमा हुने थिचोमिचो र अन्यायबिरुद्ध सडक आन्दोलनमा समेत उत्रने चेतावनी दिएका छन् ।

SN Khabar and Publication Pvt.Ltd

कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१

सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८

पान नं.:१९८३७४३३

SN Khabar Team

अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल

प्रकाशक :- नरेश बहादुर रिजाल

सम्पादक :- अनिता सिग्देल

सह-सम्पादक:- श्याम कुंवर

व्यवस्थापक:- द्रोणचार्य अवस्थी

© 2025 Copyright: SN Khabar & Powered by : Mohrain