रन्जना बि.सी कैलाली
कैलालीमा दलित समुदाय भित्रका किशोरीहरू मध्य अझै ५० प्रतिशत बालविवाह हुने गरेको पाइएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी र सबै भन्दा विकसित जिल्ला मानिएको कैलालीका दलित समुदाय भित्र २० वर्ष भन्दा कम उमेरमा गरिने विवाह ५० प्रतिशतको अनुपातमा रहेको दलित महिला सङ्घ (फेडो) तथ्याङ्कमा उल्लेख गरिएको छ ।
\बिहीबार कैलालीको धनगढीमा गरिएको नेपालमा दलित महिला र किशोरीको मानव अधिकार प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा दलित समुदाय भित्र रहेको बालविवाह र अन्य समस्याका बारेमा छलफल गरिएको थियो ।
फेडो प्रदेश अध्यक्ष र जिल्ला सचिव अम्बिका ताम्राकारले २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नुलाई कानुनी अपराध मानिए पनि कानुन प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा र बढी जसो दलित किशोरीहरूले विभिन्न समस्याका कारण आफू खुसी विवाह गर्ने भएकाले ५० प्रतिसतको अनुपातमा बालविवाह रहेको बताइन ।
उनले भनिन् ‘हामीले विभिन्न पालिकामा सर्वेक्षण गर्दा ५० प्रतिसतको अनुपातमा बालविवाह देखिएको छ। ’
ताम्रकारले संविधानमा थुप्रै व्यवस्थाहरू भएपनि समाजमा भएका खराब प्रचलन र कु प्रथाहरूका कारण बालविवाह अन्त्य हुन नसकेको बताइन् । महिला र दलित अधिकारका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा थुप्रै कानुन बने पनि कार्यान्वयन पक्ष फितलो हुँदा महिला, दलित र सीमान्तकृत समुदायले विभेद र हिंसा भोग्दै आएको उनको भनाइ थियो ।
दलित समुदाय भित्र रहेको वालविवहाका बारेका बोल्दै फेडोका कार्यक्रम संयोजक विनोद घिमिरेले कैलाली प्रदेशकै सुगम जिल्ला भएपनि बालविवाह हुनु दुर्भाग्य रहेको बताए । फेडोले काम गर्ने कैलालीका ६ वटा पालिकामा गरिएको सर्वेक्षणमा दलित समुदायमा २० वर्ष भन्दा कम उमेरमा बालविवाह गर्ने किशोरीको अनुपात ५० प्रतिशत हुनु निराशाजनक रहेको बताए ।
फेडो कैलालीको तथ्याङ्क अनुसार दलित महिलाहरू पहिलेको तुलनामा शिक्षा, व्यवसाय, कानुनी उपचार, सिपमूलक तालिम, स्वरोजगार लगायतका क्षेत्रमा भने वृद्धि भएको देखिएको छ । फेडोको आर्थिक वर्ष २०७९्८० को परियोजना सर्वेक्षणका उपलब्धि अनुसार कैलालीमा १८ वर्ष भन्दा माथिका ३२ जना दलित महिलाहरूले सिपमूलक तालिमहरू प्राप्त गरेका छन् । यस्तै मासिक रूपमा निजी आम्दानी गर्ने दलित महिलाहरू चार हजार जना रहेका छन् भने स्वरोजगार दलित महिलाको सङ्ख्या ४४१ रहेको छ ।
फेडोको समूहमा आबद्ध बिउ उपज र अन्य सहयोगबाट उद्यमी र व्यापार क्षेत्रमा ८५ जना, न्याय तथा न्यायको पहुँचका लागि कानुनी पुग्ने १८७ जना, कम हिंसा महसुस गर्ने १४० जना, मनोसामाजिक परामर्शबाट लाभान्वित सङ्ख्या २७ जना र २० वर्ष भन्दा कम उमेरमा बालविवाह गर्ने दलित किशोरीको अनुपात ५० प्रतिशत रहेको छ ।
यस्तै ४० वर्ष भन्दा मुनिका युवा दलित महिलाको नेतृत्वमा राजनीतिक दल तथा स्थानीय सरकारमा आबद्ध सङ्ख्या २५७, अगुवा अभियन्ताको सङ्ख्य १७५, निर्वाचित तथा निर्वाचित हुन सक्षम महिलाहरूको सङ्ख्या २३३, तिनै तहको प्रत्यक्ष निर्वाचनमा दलबाट उम्मेदवारी तथा निर्वाचित दलित महिलाको सङ्ख्या ५३७, नागरिकता तथा पञ्जिकरण सेवामा लागि सहयोग प्राप्त व्यक्तिको सङ्ख्या ७५ रहेको छ ।
यो अवधिमा दलित महिला नेतृत्व दायी भूमिकामा आउन तिन वटा नीति बनाइएका छन् भने कैलालीका चार वटा पालिका, धनगढी उपमहा नगरपालिका, गौरीगङ्गा नगरपालिका, भजनि नगरपालिका र कैलारी गाउँपालिकामा गरी ३६ लाख २० हजार बजेट विनियोजन गरिएको छ ।
दलित महिला सबै क्षेत्रमा पिछडिएको भएपनि अहिले राज्य सञ्चालनको मूल धारमा आउन सङ्घर्षरत रहेको फेडो कैलालीका अध्यक्ष सबिना सुनारले बताइन । उनले भनिन् ‘ दलित महिलाहरू सबै क्षेत्रमा पिछडिएको भए पनि अहिले राज्य सञ्चालनका प्रमुख निकायमा आउन सङ्घर्ष गरिरहनु भएको छ । यसमा फेडो पनि उहाँहरूलाई सिपमूलक तालिम, कुखुरा पालन, बाख्रपालन,बगुंरपालन सिलाइ बुनाइ र आफ्नो व्यवसाय सञ्चालनमा सहयोग गरिरहेको छ ।’
फेडो खास गरी दलित महिलाका क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था हो । यसले महिला र सीमान्तकृत समुदायका क्षेत्रमा पनि काम गर्ने गरेको छ । यो संस्था २०५१ सालमा काठमाडौँमा स्थापना भएको थियो भने हाल नेपालका ५६ वटा जिल्लामा शाखा बिस्तार गरेर काम गरिरहेको छ । सुदूरपश्चिमका ९ वटै जिल्लमा फेडोको संजाल रहेको छ भने हाल कैलालीका ६ वटा पालिकामा ५१ वटा समुह बनाएर काम गरि रहेको छ । जसमा १ हजार २ सय ५ जना दलित महिला आवद्ध भएका छन् ।
कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८
पान नं.:१९८३७४३३
अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल
प्रकाशक :- नरेश बहादुर रिजाल
सम्पादक :- अनिता सिग्देल
सह-सम्पादक:- श्याम कुंवर
व्यवस्थापक:- द्रोणचार्य अवस्थी