कैलालीको टीकापुर नगरपालिकाले बरघर, चिराकी र गुरुवाको स्वास्थ्य बिमामा आबद्ध गरिदिने भएको छ । टीकापुर–२ ले बरघर, चिराकी र गुरुवाले समुदायमा सामाजिक भूमिका निभाइरहेकाले उनीहरूको स्वास्थ्योपचारमा सहयोग होस् भनी बिमा गर्न लागेको हो ।टीकापुर–२ का वडाध्यक्ष दीपक चौधरीले वडामा सूचीकृत भएका १० जना बरघर, १० चिराकी र पाँच जना गुरुवाको बिमा कार्यक्रममा आबद्ध गर्न थालिएको जानकारी दिए ।
उनले वडाका हरेक काममा चिराकीको ठुलो योगदान रहेको, गुरुवाले कृषि खेतीपछि पूजाआजा गर्ने, रोगब्याधिबाट खेती र समुदायलाई जोगाउन खेलेको भूमिका र बरघर समुदायका अगुवा भएकाले हरेक काममा स्थानीय सरकारले बरघरको सहयोग लिनु परिरहेकाले आफूहरूले बरघर, चिराकी र गुरुवालाई बिमा गरिदिन थालेको बताए ।“वर्षौँदेखि समुदायको हितमा काम गरिरहनुभएका तपाईँहरूको स्वास्थ्य ठुलो कुरा हो”, उनले भने, “बिरामी पर्दा तपाई र तपाईँको परिवारलाई सहज होस् भनी स्वास्थ्य बिमामा सघाएका छौँ ।
” यसरी सामाजिक सेवा गरिरहेका बरघर, चिराकी र गुरुवाको आम्दानीको स्रोत नभएकाले उपचारमा वडाको ८० प्रतिशत र उनीहरूको २० प्रतिशत खर्चमा बिमा गरिएको हो ।स्वास्थ्य बिमाका लागि पाँच जनाको परिवारका लागि तीन हजार पाँच सय शुल्क तिनुपर्छ । वडाले दुई हजार आठ सय र सात सय बिमित स्वयमले तिरेर बिमा गरिएको छ । स्वास्थ्य बिमामा आबद्ध भए वर्षमा एक लाखसम्मको उपचार सेवा निः शुल्क पाइन्छ ।
वडाले बिमा गरिदिएपछि चिराकी जीतबहादुर परियार निकै खुसी भएका छन् ।अठार वर्षदेखि चिराकी भएर गाउँको सेवा गरिरहेका परियार सरकारले आफूलाई पनि सम्झेकोमा थप हौसला बढेको बताए । “वर्षौँदेखि सामाजिक सेवा गरौँ भनी काम गरिहरेका छौँ”, परियार भने, “वडाले कागजपत्र ल्याउनु बिमा गरिदिन्छौँ भनेपछि निकै खुसी लाग्यो । अब पाँच जनाको परिवारले नै टीकापुर र अन्य जिल्लाका अस्पतालमा पनि उपचार सेवा पाउने रहेछौँ ।
”तीस वर्षभन्दा बढी समयदेखि बरघरको जिम्मेवारी सम्हालिरहनुभएका बन्दीपुरका बरघर श्यामलाल डंगौरा आफूहरूलाई साइकल, मोबाइल दिनुभन्दा बिमा गरिदिँदा धेरै राहत हुने बताए । वडाले आफू मात्र नभई आफूहरूको परिवारको स्वास्थ्यमा समेत ध्यान दिएको उहाँको भनाइ छ । बरघर, गुरुबा तथा चिराकीले स्थानीय सरकारले आफूहरूको क्षमता विकाससँगै अन्य सेवा सुविधासमेत दिनुपर्ने माग गर्दै आएका छन् ।
समुदायमा अगुवाका रूपमा काम गरिरहेका बरघरका समस्यामा सरकारले समेत विभिन्न कार्यक्रम गर्दै आएका छन् । पछिल्लो समय स्थानीय सरकारले यसरी समुदायमा सेवा गर्ने बरघर, चिराकीलाई सहजताका लागि मोबाइल, साइकल, हाते माइकजस्ता सामग्री सहयोग गर्दै आएका छन् ।
कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८
पान नं.:१९८३७४३३
अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल
प्रकाशक :- नरेश बहादुर रिजाल
सम्पादक :- अनिता सिग्देल
सह-सम्पादक:- श्याम कुंवर
व्यवस्थापक:- द्रोणचार्य अवस्थी