व्यावसायिक कृषकलाई शून्य ब्याजदरमा ऋण दिने सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम कागजमै सीमित हुन पुगेको छ । आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा प्रदेश सरकारले उक्त कार्यक्रम घोषणा गरेर वाहवाही बटुलेको प्रदेश सरकारले कार्यान्वयनमा भने चासो देखाएको छैन ।
लामो समयदेखि व्यावसायिक कृषि समेत गर्दै आएका रविनकान्त पन्तले सरकार आफैँले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा गर्न नसक्नुको वास्तविकता आफूले बुझ्न नसकेको बताए । उनले भने, ‘वास्तवमा जो व्यावसायिक कृषि कार्य गर्छ, उसलाई अनुदान दिनुभन्दा यस्ता कार्यक्रममा समावेश गर्नु धेरै राम्रो हो ।
तर सरकार आफैँले ल्याएको कार्यक्रम कार्यान्वयनमा अनिच्छुक देखिनु दुर्भाग्यपूर्ण नै भन्नुपर्छ ।’ गत जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शून्य ब्याजदरमा ऋण दिने उल्लेख गरेका थिए ।
ऋण उपलब्ध गराउनका लागि सरकारले प्रदेश कृषि व्यवसाय प्रवर्द्धन कोष स्थापना गर्ने र सोही कोषमार्फत शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा गरिएको थियो ।सरकारको घोषणापछि कार्यक्रम कार्यान्वयनबारे बुझ्न कृषकहरू कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धाउँदै आएका छन् ।
तर उनीहरूलाई पुरानै कार्यक्रममात्रै कार्यान्वयनमा रहेको जवाफ सम्बन्धित अधिकारीहरूले दिँदै आएका छन् ।भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डा. हेमराज अवस्थीले भने, ‘चालु आर्थिक वर्षको लागि घोषणा गरिएको कार्यक्रमबारे हामीलाई अहिलेसम्म जानकारी छैन । कृषकहरू बुझ्न आउनु हुन्छ तर घोषणा गरे अनुसारको कार्यक्रम कार्यान्वयनका लागि सरकारले कुनै तयारी थालेको छैन ।
यद्यपि व्यावसायिक कृषकलाई केही प्रतिशत व्याज अनुदानको पुरानो कार्यक्रम भने जारी छ ।’व्यावसायिक कृषकलाई कृषि ऋण व्याज अनुदान कार्यक्रम अनुसार सम्बन्धित कृषकले व्यावसायिक कार्ययोजना अनुसार कुनै पनि बैंकको ऋण स्वीकृत गराउनु पर्दछ ।
ऋण स्वीकृत भएपछि कृषकले भेटेनरी अस्पताल वा कृषि ज्ञान केन्द्रमा सम्झौता गरेपछि ८ प्रतिशतसम्म व्याज अनुदान दिँदै आएको छ ।तर अझै ग्रामीण भेगका कृषकसम्म यस्ता कार्यक्रम पुग्न नसकेको बताइएको छ । कैलालीको बर्दगोरियाका कृषक नवीन जोशीले राजनीतिक दलका कार्यकर्ता तथा पहुँचवालाले मात्रै यस्ता कार्यक्रमबाट लाभ लिएको आरोप लगाए ।
कम्पनी दर्ता नं. : ३२६२५१/०८०/०८१
सूचना तथा प्रसारण विभाग दर्ता नं. : ४३५८
पान नं.:१९८३७४३३
अध्यक्ष तथा संचालक :नरेश बहादुर रिजाल
प्रकाशक :- नरेश बहादुर रिजाल
सम्पादक :- अनिता सिग्देल
सह-सम्पादक:- श्याम कुंवर
व्यवस्थापक:- द्रोणचार्य अवस्थी